सागर सुवेदी, दाङ / साउन, २६
जिल्ला ट्राफिक कार्यालय दाङले एक बर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारबाही बाट दुई करोड बढीको रावश्व रकम संकलन गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को असार मसान्त सम्म ट्राफिक कारबाहीबाट २ करोड २५ लाख ९३ हजार ५ सय ३ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।
एक बर्षको अवधिमा जम्मा २० हजार ८ सय २० पटक ट्राफिक कारबाही गर्दै जिल्ला ट्राफिक कार्यालय दाङले २ करोड बढीको राजश्व संकलन गर्न सफल भएको जनाएको छ । जिल्ला ट्राफिक कार्यालय दाङले दिएको सूचना अनुसार मादक पदार्थ सेवन (मा.प.से) गरी सवारी साधन चलाउने ९५५ वटा सवारी चालक ट्राफिक कारबाहीमा परेका छन । यस्तै सीट क्षमता भन्दा बढी र ओभरलोड बोक्ने १,२८९ वटा सार्वजनिक सवारी साधनहरुलाई कारबाही गरिएको छ भने लापरवाही गरी सवारी चलाई दुर्घटना गराउने २२५ वटा सवारी चालक कानुन बमोजिम कारवाही गरिएको छ ।
प्राप्त सूचना अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ३२१ वटा टिप्परलाई कानुन बमोजिम कारवाही गरिएको छ र ध्वनी प्रदुषण गरि चलाउने ९२ वटा मोटर साइकलको साईलेन्सर परिवर्तन गर्न लगाई कानुन बमोजिम कारवाही गरिएको छ । यसरी एक बर्षको अन्तरालमा जम्मा २०, ८२० पटकको ट्राफिक कारवाहीमा २ करोड २५ लाख ९३ हजार ५ सय ३ रुपैयाँ राजश्व संकलन भएको हो जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ५६ लाख ७० हजार धेरै राजश्व हो ।
जिल्ला ट्राफिक कार्यालय दाङले गत आ.व २०८०/०८१ मा २०,६६८ पटक कारवाही गरी १ करोड ६९ लाख २३ हजार ५ सय ३ रुपैयाँ रावश्व संकलन गरेको थियो ।
