नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपा (माओवादी) बाट अर्को समूहले विद्रोह गरेको छ ।
माओवादी जनयुद्धकालको चर्चित ‘गोरखा जेल ब्रेक’ घटनामा योजनाकार रहेकी सचिवालय सदस्य उमा भुजेल सिलुमाथिको कारबाहीपछि चर्किएको आन्तरिक किचलोका बीच केन्द्रीय प्रतिनिधि सदस्य लालबहादुर वली ‘विश्व’ को नेतृत्वमा रोल्पा जिलाका १३ जना नेता-कार्यकर्ताले पार्टी छोडेका हुन् । पार्टीमा फरक मत राख्नेहरूलाई नेतृत्वले देखिनसहेको उनीहरूको आरोप छ ।
पार्टी छोड्नेहरूमा केन्द्रीय नेता वलीसहित जिल्ला कमिटी सचिवालय सदस्य नन्द वली, महेन्द्र वली, जिल्ला सदस्य पूर्ण बहादुर वली र धनबहादुर केसी छन् । त्यस्तै, स्थानीय कमिटीका तिलक महर, मनवीर घर्ती मगर, लोकेन्द्र डाँगी, रुद्र केसी, हिरालाल वली, कमला वली, निर्मला वली र लेखनाथ डिसीले पनि उक्त पार्टी परित्यागको निर्णयमा हस्ताक्षर गरेका छन् ।
पहिलो पटक आमचुनावमा सहभागी भई देशभरबाट २३ हजार मत ल्याएको माओवादीमा पछिल्लो समय विप्लवको नेतृत्व क्षमतामाथि नै प्रश्न उठिरहेको छ । आज पार्टी छोड्नेहरूले पनि उनीबाट क्रान्ति सम्पन्न नहुने ठोकुवासहित शिलु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएको घोषणा गरेका छन् ।
उनीहरूले जारी गरेको संयुक्त वक्तव्यमा कम्युनिष्ट एकता र पुनर्गठनको आवश्यकतामाथि जोड दिइएको छ । जेनजी आन्दोलनपछि परिस्थिति जटिल बन्दै गएको र साम्राज्यवादले आफ्नो बर्चस्व कायम गर्न नवदलालहरूलाई अगाडि ल्याएको उल्लेख गर्दै वक्तव्यमा राष्ट्रियता जोगाउन क्रान्तिकारी कम्युनिष्टहरूको एकता अपरिहार्य रहने जनाएको छ ।
तर, कम्युनिष्ट आन्दोलनलाई रुपान्तरण,एकता,पुनर्गठन,ध्रुवीकरण र केन्द्रीकरण गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई विप्लवले बुझ्न नसकेको उनीहरूको भनाइ छ ।
‘वर्तमान परिस्थितिमा कम्युनिष्टहरू एक हुनुको विकल्प छैन । हामीहरू लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेका छौँ । हामी दश वर्षे जनयुद्ध, जनान्दोलन हुँदै आजसम्म क विप्लवले नेतृत्व गरेको नेकपा माओवादीमा रही काम गर्दै आएका थियौँ’, वक्तव्यमा भनिएको छ, ‘तर हालै बसेको नेकपा माओवादीको बैठकमा स्थायी समिति सदस्य शिलु, पिबिएम असलले कम्युनिष्ट पार्टीको पुनर्गठन र एकताको कुरा उठाउँदा गम्भीर छलफल गर्नुपर्नेमा दुवै जनालाई कारबाही गरेको वक्तव्य निकालियो । कारबाही गर्ने कुरा आपत्ति जनक छ ।’




