जलवायु न्याय, स्थानीय पहल र विश्वव्यापी जलवायु कूटनीतिबारे छलफल गर्न काठमाडौं क्लाइमेट विक २०२६ शुक्रबारदेखि आयोजना हुने भएको छ।
‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय : स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने मूल नाराका साथ हुने कार्यक्रमको उद्घाटन शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने आयोजकले जनाएको छ।
अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुने कार्यक्रममा नीति निर्माता, सांसद, राजनीतिक दलका प्रतिनिधि, जलवायु विज्ञ तथा अभियन्ता, स्थानीय तथा आदिवासी समुदाय, जलवायु प्रभावित समुदाय, युवा, अनुसन्धानकर्ता, नागरिक समाज, निजी क्षेत्र, वित्तीय संस्था, सञ्चारकर्मी तथा विकास साझेदार सहभागी हुने अधिवक्ता अर्णव चौधरीले जानकारी दिए।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर प्रभाव भोगिरहेको विषयलाई कार्यक्रमले प्राथमिकताका साथ उठाउने आयोजकले जनाएको छ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर प्रभाव भोगिरहेको विषयलाई कार्यक्रमले प्राथमिकताका साथ उठाउने आयोजकले जनाएको छ।
बढ्दो तापक्रम, हिमनदी पग्लने क्रम, वर्षाको बदलिँदो स्वरूप, बाढी तथा खडेरीले पूर्वाधार, जीविकोपार्जन, कृषि र खाद्य सुरक्षामा पारिरहेको प्रभावबारे छलफल हुनेछ।
विशेषगरी पछिल्ला जलवायुजन्य विपद् तथा रसुवा–भोटेकोशी क्षेत्रमा भएको बाढीलाई समेत छलफलमा समेटिनेछ।
कार्यक्रममा स्थानीय समुदायका अनुभव र भुइँतहमा भइरहेका पहललाई राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसँग जोड्ने विषयमा विभिन्न सत्र सञ्चालन हुनेछन्। संयुक्त राष्ट्रसंघीय महासभादेखि आगामी कोप ३१ सम्म नेपालको जलवायु प्राथमिकता तथा नेतृत्वबारे पनि छलफल हुने आयोजकले जनाएको छ।
पहिलो दिन उच्चस्तरीय संवादसहित ‘जलवायु न्यायमा राजनीतिक दलहरूको प्राथमिकता’, अन्तरपुस्तीय संवाद, दिगो उद्यमशीलता, नेपाली दृष्टिकोणबाट जलवायु कूटनीति तथा सुरक्षा, अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालको भूमिका तथा वातावरणीय र जलवायु न्यायका लागि कानुनी तथा अदालती पैरवीलगायतका विषयमा छलफल हुनेछ।
अक्टोबर ३ मा १७ वटा समानान्तर सत्र सञ्चालन हुनेछन्। ती सत्रमा जलवायु न्याय, क्षति तथा नोक्सानी, दिगोपन तथा जलवायु कार्य, जलवायु परिवर्तनमा प्रविधि र जलवायु न्यायका लागि निजी क्षेत्र गरी पाँच प्रमुख विषयमा छलफल हुनेछ।
युवाको भूमिका, आदिवासी जनजाति तथा सीमान्तकृत समुदाय, जलवायु वित्त, क्षति तथा नोक्सानी, जैविक कृषि, चक्रीय अर्थतन्त्र, तथ्यांक तथा अनुसन्धान, कृत्रिम बुद्धिमत्ता, जलवायु उत्थानशील पूर्वाधार र निजी जलवायु वित्तलगायतका विषय ती सत्रमा समेटिनेछन्।
अक्टोबर ४ मा अग्रपंक्तिका समुदाय तथा कार्यान्वयनका अनुभवलाई केन्द्रमा राखेर छलफल हुनेछ। युवाको नेतृत्वमा जलवायु न्याय र रसुवा–भोटेकोशी बाढीसम्बन्धी विशेष सत्र तथा सांसदहरूको सहभागितामा जलवायु न्यायसम्बन्धी संवाद आयोजना हुनेछ। प्रभावित क्षेत्रका समुदाय प्रतिनिधिको सहभागितामा समापन प्लेनरी हुनेछ।
कार्यक्रमको अन्तिम चरणमा हाइड्रोपोनिक्समार्फत जलवायु उत्थानशील कृषिसम्बन्धी व्यावहारिक प्रशिक्षणसमेत सञ्चालन गरिनेछ। अक्टोबर ५ मा समुदायका अनुभव र जलवायु परिवर्तनसम्बन्धी कथालाई समेटेर सार्वजनिक फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार काठमाडौं क्लाइमेट विकको उद्देश्य राष्ट्रिय नीति र स्थानीय कार्यान्वयनबीचको सम्बन्ध सुदृढ गर्नु, जलवायु प्रभावित समुदायका अनुभवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राथमिकतामा समेट्नु र जलवायु वित्त, नवप्रवर्तन तथा स्थानीय नेतृत्वमा हुने अनुकूलनका क्षेत्रमा साझेदारी निर्माण गर्नु हो।
कार्यक्रम काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा उद्घाटन हुनेछ। आयोजकले आगामी दिनमा काठमाडौंलाई दक्षिण एसियामा जलवायु संवादको वार्षिक मञ्चका रूपमा विकास गर्ने आधार तयार गर्ने लक्ष्यसमेत राखेको छ ।



