तिजको दिन कुटपिटपछि खुकुरी प्रहार, एक युवकको हात नै छिनियो

दाङ । दाङको बबई गाउँपालिका स्थित हापुरे बजारमा कुटपिटको घटनापछि खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।

मंगलबार दिउँसो बबई गाउँपालिका–५ हापुरे बजारस्थित कपर चिम्नी होटल अगाडि तुलसीपुर उपमहानगरपालिका–५ प्रगति टोल बस्ने २१ वर्षीय दीपक डाँगीलाई बबई गाउँपालिका–४ बस्ने १८ वर्षीय रोहित बुढासहित ६/७ जनाको समूहले कुटपिट गरेको थियो। कुटपिटबाट डाँगीको मुख र हातमा चोट लागेको थियो ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक देवराज वलीको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। कुटपिटमा संलग्न व्यक्तिहरू भने घटनापछि फरार भएका थिए।

त्यसको केही घण्टापछि बुधबार राती करिब १२ः३० बजे बबई गाउँपालिका–५ ट्वाङ खोला झोलुङ्गे पुलनजिकै सोही घटनासँग जोडिएको भनिएको अर्को गम्भीर घटना भएको छ।

हापुरे निवासी हिरा बुढाका छोरा २०/२१ वर्षीय पुष्कर बुढामाथि तुलसीपुर–५ प्रगति टोल बस्ने २१ वर्षीय दीपक डाँगी सहित नाम–वतन नखुलेका व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट पुष्करको बायाँ हातको बुढीऔँला बाहेक हातको पञ्जा काटिएको छ भने घाँटीमा समेत चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र प्रारम्भिक उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो।

थप उपचारका लागि घाइते पुष्कर बुढालाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारमा संलग्न व्यक्तिहरू घटनापछि फरार रहेको र उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस