नेपालको पग्लिँदो हिमाल, बढ्दो विपद् र प्रभावित समुदायका न्यायका माग विश्वमञ्चमा

अन्टाल्या, टर्की । जलवायु न्यायसम्बन्धी विश्व सम्मेलनका क्रममा टर्कीको अन्टाल्यामा आयोजित मार्चमा नेपाली युवा अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूले नेपालको जलवायु संकटलाई विश्व समुदायसमक्ष उठाएका छन्।

शिव सोसाइटी अर्गनाइजेसनको तर्फबाट सहभागी हजारौँ अभियन्ताहरूले जलवायु संकटले विश्वभर पारेको असरबारे आवाज उठाउँदै नारा र जुलुससहित मार्च गरेका थिए। मार्चमा सहभागी नेपाली अभियन्ताहरूले विशेषगरी पग्लिँदै गरेका हिमाल, बाढीपहिरो तथा जलवायुजन्य विपद्बाट प्रभावित नेपाली समुदायका समस्या र न्यायका मागलाई केन्द्रमा राखे।

अभियन्ताहरूले जलवायु संकट सिर्जना गर्न न्यून योगदान गरेका नेपालजस्ता देश र समुदायले यसको असमान रूपमा ठूलो मूल्य चुकाइरहेको बताए। उनीहरूले बाढीपहिरोबाट प्रभावित जनताको सुरक्षा, क्षतिको न्यायोचित सम्बोधन र आवश्यक सहयोग सुनिश्चित गर्न विश्व समुदायको ध्यानाकर्षण गराए। हालैको भोटेकोशी विपद्बाट प्रभावित जनताले न्याय पाउनुपर्ने माग पनि मार्चका क्रममा उठाइएको थियो।

नेपाली युवा अभियन्ता पवन गौतम, योगेश काफ्ले, भगवती अधिकारी र प्रयास अधिकारीसहित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईको सहभागिता रहेको थियो। सहभागीहरूले विभिन्न पहिरन र सिर्जनात्मक गतिविधिमार्फत नेपालको पहिचान र जलवायु न्यायको सन्देश प्रस्तुत गरेका थिए।

सम्मेलनस्थल बाहिर हुने यस्ता सार्वजनिक मार्चले जलवायु संकटबाट प्रभावित समुदायका आवाजलाई देखिने बनाउने र औपचारिक वार्तामा उठ्ने मुद्दालाई थप बल दिन सक्ने विज्ञहरूको भनाइ छ। नेपाली अभियन्ताहरूको सहभागिताले हिमाली राष्ट्रका रूपमा नेपालको अनुभव र जलवायु न्यायसम्बन्धी मागलाई अन्तर्राष्ट्रिय बहसमा जोड्ने काम गरेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस