दाङ, भदौ ९ | ज्ञान सिन्धु फुट्सल कप २०८३ भोलि भदौ १० गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा उपाधिका लागि दाङ जिल्लाका विभिन्न विद्यालयका १५ वटा समूहले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ३३ हजार ३ सय ३३ रूपैयाँ तथा द्वितीय हुने टोलीले रु. ११ हजार १ सय ११ रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी लगायत व्यक्तिगत विधातर्फ पनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
विद्यालयस्तरका खेलाडीको प्रतिभा पहिचान तथा फुट्सल खेलको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता डिभाइन फुट्सल कोर्टमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी विद्यालयका टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताले दाङका विद्यालयस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय फुट्सल खेलको विकासमा समेत टेवा पुग्ने विश्वास लिएको ज्ञानसिन्धु कलेजका प्रमुख भोजराज न्यौपानेले बताएका छन्।




