दाङ । अपांगता सहायता सामग्रि वितरणमा अनियमितता भएको समाचार सिएनटी प्रेसमा पत्रकार सागर सुवेदीले सार्वजनिक गरेपछि अनियमिता भएको भनिएको रकम तुलसीपुर उपमहानगरपालिकालाई फिर्ता आएको छ ।
अपांगता भएका व्यक्तिलाई सहायता सामग्रि उपलब्ध गराउने सम्झौता गरेको अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (एचआरडिसी) बनेपा काभ्रेले १० प्रतिशत जरिवानासहित २ लाख ६ हजार २ सय ५० रुपैँया फिर्ता गरेको हो ।एचआरडिसीले तुलसीपुर उपमहानगरपालिकाको खातामा बिहिबार (साउन २२ गते) उक्त रकम जम्मा गरिदिएको हो । रेडियो हाम्रो पहुँचलाई प्राप्त भौचर विवरण अनुसार एचआरडिसीले तुलसीपुर उपमहानगरपालिको नेपाल बैंकमा रहेको खातामा रकम जग्गा गरेको देखिएको छ ।

अपांगता भएका व्यक्तिलाई सहायता सामग्री वितरण नगरी किर्ते हस्ताक्षर गरेर रकमको दुरुपयोग भएको समाचार सोमबार (साउन १९ गते ) सिएनटी प्रेस बाट प्रकाशन तथा प्रशारण भएको थियो ।सम्झौता अनुसार एचआरडिसीले अपांगता भएका २० जना व्यक्तिलाई सहायता सामग्रि उपलब्ध गराउनुपर्ने थियो । तर १३ जनालाई मात्रै सहायता सामग्रि हस्तान्तरण गरेर बाँकी ७ जनाले पाएका थिएनन् ।
उनीहरुको नाममा किर्ते हस्ताक्षर गरी तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रर्वद्धन शाखाले एचडिआरसीलाई २० जनाकै सहायता सामग्री वाफतको करसहित ५ लाख ४५ हजार ८ सय एचारडिसी संस्थालाई भुक्तानी गरेको थियो ।
एचआरडिसीले सहायता सामग्री नपाउनेको रकम फिर्ता गरेपनि अनियमितता हुन खोजेको स्पष्टरुपमा देखिएको छ । सहायता सामग्री पाउनेको नाममा किर्ते हस्ताक्षर हुनु, भुक्तानी गर्दा कति जनाले सहायता सामग्री पाए भन्ने उपमहानगरपालिकाले जाँच नगर्नु, समाचार आएपछि मात्रै बाँकी रकम फिर्ता हुनुले यसमा अनियमितता हुन खोजेको हो भन्ने स्पष्ट भएको जानकारहरु बताउँछन् ।

प्राप्त विवरण अनुसार तुलसीपुर–१९ का गिता बुढाको ४५ हजार, तुलसीपुर–९ का पोषण केसी, तुलसीपुर–१३ का बामदेव नेपाली र पोषण न्यौपानको ४५/४५ हजार, तुलसीपुर–३ का प्रकाश न्यौपाने र तुलसीपुर–७ का प्रमित चौधरीको ३/३ हजार र तुलसीपुर–५ का भावना परियारको १ हजार ५ सय गरी १ लाख ८७ हजार ५ सय रकम अनियमितता हुन खोजेको थियो । तर समाचार सार्वजनिक भएपछि एचआरडिसीले तुलसीपुर उपमहानगरपालिकालाई १० प्रतिशत जरिवाना रकमसहित २ लाख ६ हजार २५० रुपैँया फिर्ता गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले सहायता सामग्रि नपाउनेको बाँकी रकम फिर्ता आएको पुष्टी गर्नुभयो । उहाँले अपांग समाज सुधार केन्द्र तुलसीपुरले सबैले सहायता सामग्री प्राप्त गरिसकेको विवरण पठाएको आधारमा उपमहानगरपालिकाले भुक्तानी गरेको पनि बताउनुभयो ।
सम्बन्धित जनस्वास्थ्य प्रवर्धन शाखाले जाँच नगर्नुमा केहि त्रुटी हुन पुगेकाले भन्दै सम्बन्धित शाखा प्रमुखलाई आगामी दिनमा गल्ती नदोहारीने गरी चेतावनी दिएको समेत उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा अपाङगता भएका व्यक्तिहरुका लागि कृतिम हातखुट्टा तथा सहायता सामग्री उपलब्ध गराउन लागि ८ लाख रुपैया विनियोजन गरेको थियो ।
सोहि रकमबाट अपांगता सहायता सामग्री वितरणका लागि तुलसीपुर उपमहानगरपालिको जनस्वास्थ्य प्रवद्र्धन शाखा, अपांग समाज सुधार केन्द्र तुलसीपुर र अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा बिच साझेदारी भएको थियो ।
तर भने अनुसार कार्यक्रम नै नगरी २०८१ जेठ २४ गते सामग्री वितरण गरेको भनि कागजात तयार गरिएको थियो । कार्यक्रम नगरेरै नक्कली भरपाई तयार गरी तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखामा अपाङग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक हुमकान्त कँडेलले कागजात पेश गर्नुभएको थियो ।
समाचार सार्वजनिक भएपछि कँडेललाई अपाङग समाज सुधार केन्द्रले बुधबार (साउन २१ गते) निलम्बन समेत गरिसकेको छ ।
