दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मशिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मशिनमध्ये हाल पाँच वटा मशिन बिग्रिएका छन् ।नौ वटा मशिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताइन् ।मर्मत गर्नका लागि काठमाडौंबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उनले बताइन् । ‘इञ्जिनियरहरूलाई बोलाएको हो,’ उनले भनिन्, ‘तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।’ घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताइन् ।
तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् ।
अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्युठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् ।डायलासिस मशिन बिग्रिँदा निकै समस्या हुने गरेको छ ।
