तुलसीपुर । पढाइसँगै आर्थिक सचेतनामा पनि अगाडि बढ्ने उदाहरण प्रस्तुत गर्दै हाम्रो पहुँच सेकेन्डरी स्कुल कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहकारी संस्थाको मालिक बनेका छन्।
आधारभूत लेखा प्रणाली तथा वित्तीय साक्षरतासम्बन्धी अतिरिक्त कक्षा सञ्चालन गरिएपछि विद्यार्थीहरूमा बचत र लगानीप्रतिको रुचि बढेको विद्यालयले जनाएको छ। सोही प्रशिक्षणपछि खाजा खर्च जोगाएर शेयर खरिद गर्न थालेका विद्यार्थीहरूले न्यूनतम १० कित्तादेखि शेयर सदस्यता सुरु गरेका छन ।
संस्थाका अनुसार शेयर सदस्य बन्नका लागि उमेर पुगेको, नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गरेको तथा तुलसीपुर उपमहानगरपालिका भित्र स्थायी बसोबास गरेको हुनुपर्ने मापदण्ड छ। यी योग्यता पूरा गरेका विद्यार्थीहरू औपचारिक रूपमा सहकारीका मालिक अर्थात् शेयर सदस्य बनेका छन्।
शेयर सदस्य बनेपछि विद्यार्थीहरूले विभिन्न आर्थिक सुविधा प्राप्त गर्नेछन्। उनीहरूलाई मासिक शुल्कमा १० प्रतिशत छुट, डेरी कारोबारमा १० प्रतिशत छुट, रेडियो कारोबारमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। साथै पेट्रोलपम्प बचत तथा ऋण लगायतका विभागमा गरेको कारोबारका आधारमा ‘संरक्षित पूँजी फिर्ता कोष’ मार्फत आफूले बुझाएको रकमको निश्चित प्रतिशत आफ्नै खातामा फिर्ता पाउने व्यवस्था गरिएको छ।
विद्यालय प्रशासनका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई सानै उमेरदेखि बचत, लगानी र सहकारी प्रणालीबारे व्यावहारिक ज्ञान दिलाउने उद्देश्य राखेको छ। “पढ्दै गर्दा नै आर्थिक रूपमा जिम्मेवार बन्ने संस्कार विकास गर्नु हाम्रो लक्ष्य हो,” विद्यालय स्रोतले जनाएको छ।
यस पहललाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ। आर्थिक साक्षरतासँगै स्वामित्वको अनुभूति गराउने यस्तो अभ्यासले विद्यार्थीहरूमा आत्मविश्वास र उद्यमशीलता विकास हुने विश्वास गरिएको छ।



