तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

सोमबार, भदौ १६, २०८२

दाङ । विद्यालय शिक्षा विधेयक सच्याउन माग गरेर निजी विद्यालय सञ्चालकले दाङको तुलसीपुरमा स्कुल बस सहितको र्‍याली निकालेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान र ओपनले संयुक्तरूपमा तुलसीपुर बजार क्षेत्रमा र्‍याली निकालेका हुन् ।

यसअघि, निजी विद्यालय सञ्चालकहरूले पाँचबुँदे माग राखेर आन्दोलन घोषणा गरेका थिए । विधेयकबाट निजी शैक्षिक संस्थासम्बन्धी ‘अव्यावहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउनुपर्ने माग उनीहरूको छ ।

निजी विद्यालय सञ्चालकले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् । यस्तै, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग उनीहरूको छ ।

नेसनल प्याब्सन तुल्सीपुर अध्यक्ष लोकेन्द्र खड्काले करिब एक घण्टा तुल्सीपुर बजार क्षेत्रमा स्कुल बस उतारेको बताए । “आज पूरै तुल्सीपुर बजार क्षेत्रमा स्कुल बस निकालेर जाम गराएका छौँ,” उनले भने ।

तर, ट्राफिक कार्यालय तुल्सीपुरका प्रमुख लक्ष्मण ऐरले निजी विद्यालयको प्रदर्शनले सवारी आवागमनमा खासै असर नपरेको बताए ।

“निजी विद्यालय सञ्चालक सडकमा उत्रिसकेपछि अलिअलि असहज त भइहाल्छ । तर, सवारी आवागमन नै बन्द गर्नुपर्ने र डाइभर्सन गर्नुपर्ने अवस्था थिएन ।” ऐरले भने ।

प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस