कैलालीमा सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु, दुई पक्राउ

कैलालीमा सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

भदौ २ गते दिउँसो सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जंगली बँदेललाई गोली हान्ने क्रममा विश्वकर्माको दाहिने छातीमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

घटनापछि शवलाई जंगलमा लगेर राखी भागेका थिए । मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा कृष्णबहादुर र राकेश डगौरा थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा राकेशले घटनामा प्रयोग भएको भरुवा बन्दुक जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेको थियो । प्रहरीले दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस