बा!
मनभरि प्रश्नहरू पोखिँदैछन् ,
तर शब्दमा बयान गर्ने सामर्थ्य छैन ।
यसपाली पनि दशैँ आयो,
गाउँभरि हर्ष र उमङ्ग छाएकाे हाेला,
तर म भने ऋणकाे भारी,
अनि घरकाे ठूलाे जिम्मेवारी बाेकेर
अनजान शहरका सुनसान बाटाहरूमा
एक्लै भौँतारिँदै बसेकाे छु।
टाढा, धेरै टाढा,कुनै एउटा सपनाकाे संसारमा…।
बा!
दशैँ नजिकिँदै गर्दा
आँखाबाट आँसु अनायासै झर्छन्,
मनमा भने कहिले पीडाकाे घर बन्छ,
कहिले दुःखकाे आधार खडा हुन्छ,
कहिले निराशाकाे पहाड थुप्रन्छ,
अनि सम्झन्छु तिम्रै चाउरिएकाे
उदास अनुहार,
आँगनमा राेपेका जमरा हरियो भए पनि
तिम्रा आँखामा पक्कै उज्यालो आएकाे छैन हाेला,
उजाड मन बाेकेर कति हरियाे जमरा उमार्छाै ? बा!
तिम्रा हातको टीका र जमरा
मेरो निधारमा टाँसिन नसकेको पनि
आज पाँच वर्ष पुगिसकेछ ।
बा !
यी चाडपर्व पनि किन आउँछन्
हाेला है ?
विछाेडकाे घाउमा नुन छर्किँदै,
आँसुकाे भेल बाेकेर ।
सबैलाई थाहा छ ।
दशैँ तिथि र वारसँगै अडिग हुन्छ, बदलिँदैन।
तर,मेराे मनले चाहन्छ
यसपाली दसैं सार्न पाए,
म फर्कने थिएँ आफ्नै गाऊँ
समय रूपी नदीसँगै मितेरी लगाएर
बाँच्ने थिएँ,आफ्नै बा-आमाकाे काखमा
लुटुपुटु गर्दै,
तिनै मितेरीका पुराना स्मृति र चाेटलाई सुमसुम्याएर
तर बा! मनका चाहना त
कसैले देख्न नसक्ने आँधीझैं,
कसैले रोक्न नसक्ने आँसुजस्तै।
आफैँ आफैँ सुक्दै जाने रहेछन् ।
बा!
सपना भन्ठानेर बाँच्नु परिरहेको छ।
तपाईँका चिरा परेका खुट्टामा
मेरो न्यानो नजिकिँदैन।
तपाईँका काँपिरहेका हातमा
मेरो स्पर्श पुग्दैन।
यही नै सबैभन्दा ठूलो पीडा हो बा !
आँखा उही,अनुहार उही,
तर दूरीले बनाएको पर्खाल यति अग्लो छ
कि चाहना पनि छिर्न पाउँदैन।
यसपाली पनि
तपाईँको हातले आफ्नाे
निधारमा रातो टिका राख्ने
मेरो आकांक्षा अधुरै रहने भयाे।
सपना भने हरेक वर्ष यही दोहोरिन्छ
अर्को साल पक्का आउँछु बा!
तर त्यो अर्को साल
कहिले वर्तमान बन्छ?
कहिले त्यो खुसी, त्यो मिलन
मेरो हातले समात्न पाइन्छ?
मात्र सपनाकाे सपनालाई पूरा
गर्ने सपना पर्खेर बसेकाे छु । बा!
बा!
तिथिहरू त सार्न सकिँदैनन्,
तर मनका दिनहरू त अझै बाँकी छन्।
म विश्वास गर्छु । बा!
कुनै न कुनै दिन
यो दूरी टुट्नेछ ।
मेरो निधारमा तपाईँकै हातकाे
टीका र आशीर्वाद सजिनेछ ।
त्यो दिनसम्म
मेरो दुःख, मेरो पीडा, मेरो चाहना,
सबै स्मृतिको आभा बनेर तपाईँकै चरणमा बलिरहनेछन्।
✍️ : अन्जन ढुङ्गेल
