दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ दोघरेमा रहेको श्री उर्वर कृषि सहकारी संस्था लिमिटेडको १४औं साधारणसभा उत्साहपूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल खड्काको अध्यक्षता तथा तुलसीपुर–१९ का वडा अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडा अध्यक्ष योगिले हाल किसानलाई परेको मल अभाव समाधान गर्न सहकारीमार्फत समन्वय गर्ने बताउनुभयो ।उहाले सहकारीलाई किसानसँग प्रत्यक्ष जोडिएको संस्था भएकाले वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै १९ नम्बर वडालाइ कृषि हबका रूपमा विकास गर्न स्थानीय सरकार र सहकारी मिलेर अगाडि बड्नुपर्ने र आफुले विशेष पहल गर्ने बताउनुभयो।
संस्थाका अध्यक्ष गोपाल खड्काले सहकारी सदस्यको निरन्तर साथ र विश्वासकै कारण संस्था निरन्तर प्रगतिको बाटोमा अगाडि बढिरहेको बताउनुभयो । उहाले कृषिमा नवप्रवर्तन र आत्मनिर्भरता ल्याउने उद्देश्यका साथ सहकारीले काम गर्दै आएको जानकारी दिँदै, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजनाबारे बताउनुभयो ।
त्यस्तै, सचिव लालबहादुर केसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षका उपलब्धि, सहकारीको आर्थिक अवस्था, लगानी, सदस्य विस्तार, तालिम तथा कृषिमा गरिएको सहयोगबारे विस्तृतमा बताउनुभएको थियो । सहकारी किसानको मात्र नभएर, समुदायकै विकासमा टेवा पुर्याउने गरी अघि बढिरहेको बताउनुभयो ।
साधारणसभामा अन्य सहभागीहरूले पनि सहकारीले अझै धेरै सदस्यलाई समेट्दै आधुनिक कृषि प्रणालीतर्फ अग्रसर गराउनुपर्ने सुझाव राखेका थिए ।
संस्थाका लेखा संयोजक टीकाजङ ओलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब लाल बहादुर के सी ले गर्नुभएको थियो ।
