गर्मी बढ्दै गएपछि दाङ जिल्लाबाट रोल्पा जिल्लाको दक्षिणतर्फ हुँदै बग्ने ग्वार खोलामा स्थानीय र बजार क्षेत्रका मानिस दिनहुँ पौडी खेल्न जाने गरेका छन् ।
रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका र सल्यान जिल्लाको कपुरकोट गाउँपालिकादेखि पूर्व दक्षिण भएर बग्ने ग्वार खोलामा गर्मी छल्नका लागि दाङ जिल्लाको घोराही, तुलसीपुरबाट बालबालिकालाई लिएर अभिभावकसमेत पुग्ने गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का प्रकाश सुबेदीले पालिकाभित्र नुहाउनका लागि खोला नभएकाले गर्मीमा शीतलता पाउनका लागि नुहाउन आएको बताउनुहुन्छ ।
ग्वार खोला(गणेश गङ्गा) संरक्षणमा जुटेका अभियानकर्मी सागर रेग्मीले दाङ उपत्यकाकै ठुलो खोला ग्वार खोलामा स्नान गर्न आउँदा यस क्षेत्रको प्रचार प्रसार हुने बताउनुहुन्छ ।
अभियानकर्मी रेग्मीले नुहाउन, वनभोज खान आउँदा जथाभाबी फोहोर फाल्दा भने खोलाको स्वरुप नै कुरूप देखिने हुँदा फोहोर जथाभाबी फ्याँक्न नहुने बताउनुहुन्छ। रेग्मीले खोलामा जनैपूर्णिमा,साउने सङ्क्रान्ति,माघे सङ्क्रान्ति,ग्रहण लागेको समयमा समेत स्नान गर्न आउनेको भिडभाड हुने गरेको बताउनुहुन्छ ।
टेलिया कुलो सिँचाइ समितिका कोषाध्यक्ष वीरबहादुर वलीले सिसाजन्य र प्लास्टिकजन्य सामग्री जथाभाबी फाल्दा किसानको खेतबारीमा गई उत्पादनमा समेत समस्या आउने गरेको बताउनुहुन्छ ।



