तुल्सीपुर उपमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय महिला बालबालिका तथा सामाजिक विकास शाखाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा पालिका भित्रका दलित तथा विपन्न समुदायका महिलालाई सरकारी सेवातर्फ आकर्षित गर्न र उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको बताएको छ । नायब सुब्बा वा सो-सरहको लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन मागको सूचना पालिकाले प्रकाशित समेत गरेको छ।
शुक्रबार प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे द्वारा हस्ताक्षरित सूचनामा योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिनभित्र महिला बालबालिका तथा सामाजिक विकास शाखामा निवेदन पेश गर्न अनुरोध गरिएको छ । पहिलोपटक सुरु हुन लागेको दलित तथा विपन्न समुदायका महिलालाई लोकसेवा तयारी कक्षा वैशाख दोस्रो सातादेखि सञ्चालन हुने महिला बालबालिका तथा सामाजिक विकास शाखाले जानकारी दिएको छ ।
कोर्स पुरा हुन करिब ३ महिना लाग्नेछ भने सहभागीले मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा प्लस टु वा सोसरह उत्तीर्ण गरेको, पालिकाको स्थायी बासिन्दा र उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

तुलसीपुर उपमहानगरपालिकाले जारी गरेको सूचना ।



