दाङ ६, भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको डिभाइन टेम्पल एकाडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।
डिभाइन टेम्पल एकाडेमीका प्रधान्ध्यापक भोजराज न्यौपानेको सभाध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालयका सह प्राध्यापक नारायण नेपाल को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गजल अभियान दाङका अभियानता तथा गजलकार सुशील पुन ‘बिरही’ विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नारायण नेपालले पिताको योगदान परिवार र समाज दुबैका लागि अमूल्य हुने बताउनुभयो । “पिता केवल परिवारका आश्रय मात्र होइनन्, समाजलाई सही मार्गदर्शन गर्ने शिक्षकसमेत भएको र पिताले दिएका संस्कार र शिक्षा सन्तानलाई जीवनमा अगाडि बढ्न प्रेरणा दिने अमूल्य सम्पत्ति रहेको उहाले बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष भोजराज न्यौपानेले पिताले गरेको संघर्ष र त्यागकै कारण आजको पुस्ता सक्षम र आत्मनिर्भर बन्न सकेको उल्लेख गर्दै, यस्ता कार्यक्रमले नयाँ पुस्तामा चेतना जगाउने विश्वास व्यक्त गर्नुभयो। विशिष्ट अतिथि गजलकार सुशील पुन ‘बिरही’ ले आफ्ना गजल वाचन गर्दै गजलको महत्वबारे प्रष्ट्याउँदै गजल केवल मनोरञ्जन नभएर यसमा जीवनका गहिरा यथार्थ र पीडा पोखिने बताउनुभयो । आजका विद्यार्थीलाई गजल र साहित्यतर्फ आकर्षित गरिनु सकारात्मक कदम रहेको उहाले बताउनुभयो ।
विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । विधालयकी शिक्षिका माधवा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक महेश लामिछानेले गर्नुभएको थियो।