टेकराज भण्डारी
नेकपा (माओवादी केन्द्र) दाङ जिल्लामा विभिन्न दृष्टिकोणबाट बहस छलफल भइरहेका छन्। ती हरेक बहस छलफलहरू एजेन्डामा केन्द्रित भएका छन्। ती बहस छलफलहरू पार्टी संगठन निर्माणमा केन्द्रित छन् । दाङ जिल्लामा तीनवटा निर्वाचन क्षेत्र छन्। देउखुरी, घोराही र तुलसीपुर देखि पश्चिम क्षेत्र । तीनवटै क्षेत्रको प्रतिनिधित्व, नेतृत्व विकास, मनोविज्ञान लाई हामीले समेट्न सक्नुपर्छ । संगठनात्मक हिसाबले, विधिको हिसाबले, जिम्मेवारी लिने सन्दर्भमा, एउटै क्षेत्र केन्द्रित एउटै परिवार केन्द्रित हुनु हुँदैन।
माओवादी पार्टीसँग त्याग, तपस्या, बलिदानको एउटा इतिहास छ। यी कुरा आजका मानिसलाई सामान्य लाग्न सक्छ। तर, धेरै ऐतिहासिक महत्त्वको विषय हो। यो गर्बिलो इतिहास पार्टीको पृष्ठभूमि हो।
त्यही त्याग तपस्याकै कारण आज सर्वभौम अधिकार जनतामा अन्तर्निहित छ । समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतान्त्रिक गणतन्त्रको व्यवस्था छ। यो माओवादीकै त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको हो ।
आज पार्टी किन पार्टीजस्तो नभएर प्राइभेट कम्पनी जस्तो भएको छ ? यसलाई बहसमा ल्याउन जरुरी देखिन्छ । आउनुहोस् वृहत छलफल गरौं । पार्टीलाई पार्टी जस्तो बनाऔ । नेता कार्यकर्तालाई जिम्मेवारीबोधका साथ जनताप्रति उत्तरदायी बनाऊँ । नेतृत्वले बाटो बिराउँदा निर्धक्क प्रश्न गर्न सिकौं । दासत्व नस्वीकारौँ।
पार्टीको आन्तरिक जीवन सुदृढ गर्न आवश्यक छ । नीति र विधिभन्दा नेता प्रधान हुने मान्यता छ । त्यसलाई उल्ट्याउनुपर्छ । नीति र विधि प्रधान हुने, समिति र संस्था प्रधान हुने कुरामा बदल्नुपर्छ । नेता प्रधान हुँदा नोकरशाही संयन्त्रमा बदलिन्छ । यसमा विचार फल्न–फुल्न पाउँदैन । विचार फल्न–फुल्न पाएन भने पार्टीको आन्तरिक जीवन संकुचनमा पर्छ । पार्टी बिस्तारै ओरालो लाग्छ । पार्टीलाई नोकरशाही संयन्त्रमा बदल्न नदिन नीति र विधि प्रधान बनाउनुपर्छ । संरचना मुख्य बनाउनुपर्छ । आन्तरिक सुधार गर्ने पहिलो उपाय यो हो ।
जनयुद्ध कालिन सोच र नयाँ पुस्ता बीचको अन्तरविरोध
पछिल्लो समय माओवादीमा देखिएको ठूलो समस्या भनेको जनयुद्ध लडेको घमण्ड । त्यो घमण्डको भारी बिसाउनुपर्छ । हामीले जनयुद्ध लडेका हौँ भन्ने घमण्डले आजको परिस्थिति बदल्न सकेका छैनौँ।
आजको आवश्यकतालाई आत्मसाथ गर्न सकेका छैनौं। युद्धको धङधङीले आजको आवश्यकता, परिस्थिति र नयाँ जेनेरेशनको आकांक्षालाई बुझ्न कठिन भइरहेको छ। हिजो पनि धरातलमा टेकेरै जनयुद्ध गरेको हो। आज पनि धरातलमा टेक्नुपर्छ । त्यसकारण जनयुद्धको घमण्डको भारी बिसाएर मात्रै पार्टी अगाडि बढ्न सक्छ। जनयुद्ध लडेका मान्छे मात्रै होइनन् कि आम सामाजिक क्षेत्रमा नेतृत्व गर्नेहरू, विज्ञहरू, नयाँ जेनेरेसनहरूले पार्टीमा आफ्नो जीवन वा भविष्य देख्नुपर्छ।
इतिहास सच्याउन त सकिँदैन तर समीक्षा गरेर अघि बढ्न भने पक्कै पनि सकिन्छ। त्यसैले अब माओवादी नेतृत्वले हिजोका आफ्ना कमीकमजोरीहरू सच्याई भातृसंगठनहरूलाई सशक्त रूपमा परिचालन गरेर अघि बढ्नुको विकल्प छैन।
( लेखक भण्डारी माओवादी निकट प्रेस सेन्टर नेपाल तुल्सीपुरका अध्यक्ष हुन । )
