रसुवा बाढीपछि सरकार एक्सनमा, प्रधानमन्त्री बालेनले दिए ६ निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अन्य जिल्लाबाट समेत अतिरिक्त सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ पठाइसकिएको जानकारी दिएका हुन् ।

उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, स्काउट र रेडक्रससँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ । प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन् ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । त्यसका लागि एसएमएस तथा फोनमार्फत स्थानीयलाई जानकारी गराउँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।

सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ । निजी हेलिकप्टर कम्पनीलाई समेत हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको शाहले बताएका छन् ।

आगामी आवश्यक कदमबारे निर्णय गर्न केही बेरमै उच्चस्तरीय बैठक बोलाइएको पनि उनले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट आउने उद्धारसम्बन्धी अपडेट कुर्न आग्रह गरेका छन् ।

उनका अनुसार थप जानकारी तथा राहतसम्बन्धी जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस