दाङको तुलसीपुरमा एक निर्माण मजदुर झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–६ कौछे घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दोभानटोलमा बस्दै आएका ३८ वर्षीय शालिकराम बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार बुढाथोकी तुलसीपुर–६ दोभानटोलमा सरिता वलीको निर्माणाधीन पक्की घरमा मिस्त्रीको काम गर्दै आएका थिए। शनिबार दिउँसो करिब ३ः५० बजे सोही घरको दोस्रो तलामा रहेको शौचालयमा सेटिङका लागि प्रयोग गरिएको बाँसमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरको कमाण्डमा एसओसीओसहित ७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घटनाबारे मृतककी श्रीमतीलाई खबर गरिएको छ भने उनका भाइ माधव बुढाथोकी पनि घटनास्थलमा पुगेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



