दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ सांगेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी दुर्घटनाको तीन दिन बितिसक्दा पनि फेलापर्न सकेको छैन । दुर्घटनामा परेको गाडी तथा त्यसमा सवार यात्रुको खोजी कार्य अत्याधुनिक उपकरणको प्रयोगसहित निरन्तर जारी रहेको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी गत शुक्रबार सडकबाट करिब छ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनापछि गाडी नदीको तीव्र बहावमा हराएको आशंका गरिएको छ । हालसम्म गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन विवरणसमेत सार्वजनिक हुन सकेको छैन । यसले उद्धार तथा खोजी कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ ।
गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष गोताखोर टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली शनिबार घटनास्थल पुगेको हो ।
टोलीले नदीभित्र हराएका सवारीसाधन तथा व्यक्तिको खोजीका लागि प्रयोग हुने आधुनिक सोनार क्यामेरा, म्याग्नेट (चुम्बक) लगायतका विशेष उपकरणको प्रयोग गरिरहेको जनाएको छ । नदीको गहिराइ, तीव्र बहाव तथा भौगोलिक जटिलताका कारण खोजी कार्य निकै कठिन बन्दै गएको अधिकारीहरूको भनाइ छ । यद्यपी केही तल गाडीको सिट र यात्रुको झोलाहरू भने भेटिएको छ ।
दुर्घटना भएकै दिन सशस्त्र प्रहरी गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जना गोताखोरसहितको उद्धार टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक खोजीका क्रममा दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारिएको थियो । त्यसयता गाडी वा अन्य यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा सम्बन्धित निकायको समन्वयमा खोजी कार्य जारी रहे पनि नदीको तीव्र बहाव र वर्षायामका कारण सफलता हात पार्न कठिन भइरहेको छ । दुर्घटनामा बेपत्ता भएका यात्रुका आफन्तहरू घटनास्थल आसपासमा गाडीको खोजीको नतिजा पर्खिरहेका छन् ।



