सिरहामा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले कारबाही गर्दा एक जना भारतीय नागरिक गोली लागेर घाइते भएका छन्। आज असार ७ गते सिरहा नगरपालिका–२१ लकडिगोठमा प्रहरीले आत्मसमर्पण गर्न चेतावनी दिँदा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी भारततर्फ भाग्न खोजेपछि प्रहरीले हवाई फायरसहित गोली चलाएको थियो।
गोली लागेर भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान घाइते भएका छन्। घटनामा इप्रका महेशपुरपतारका प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन्। दुवैको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट एक नाबालकसहित दुई जनालाई नियन्त्रणमा लिई १०१ ग्राम ६० मिलिग्राम (प्लास्टिकसहित) ब्राउन सुगरजस्तो पदार्थ बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा पासवान कुख्यात लागूऔषध कारोबारी रहेको र उनले वर्षौंदेखि ठुलो परिमाणमा ब्राउन सुगर बिक्री वितरण गर्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।



