दाङको तुलसीपुरमा ५९ वर्षीया महिला मृत अवस्थामा फेला

दाङ, १२ जेठ । दाङको उपमहानगरपालिका–१० गोलौरी निवासी ५९ वर्षीया जगनी चौधरी मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चौधरी आफ्नै घरदेखि करिब १५० मिटर उत्तरतर्फ रहेको पुरानो घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे मिति २०८३ जेठ ११ गते बेलुका ७:४५ बजे प्रहरीलाई सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी उरहरी जसपुरबाट प्रहरी नायब निरीक्षक एकबहादुर खड्काको कमाण्डमा २ जना तथा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा सुर्खेत हाल कोहलपुर बाँकेबाट प्रहरी सहायक निरीक्षक केशव खत्रीको कमाण्डमा ५ जनाको टोली ट्र्याकर कुकुर “जम्बो” सहित दाङतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव घटनास्थलबाट उठाएर सोमबार बिहान १० बजे पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ। हाल शव अस्पतालको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस