दाङको तुलसीपुरमा मापसे गरी अटो चलाउने चालकलाई खादा ओडाएर सम्मान

दाङको तुलसीपुरमा मादक पदार्थ सेवन (मापसे) गरेर अटो रिक्सा चलाइरहेका एक चालकलाई अन्य अटो चालकहरूले खादा ओडाएर सम्मान गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा फैलिएको भिडियोमा मापसे गरेर अटो चलाइरहेका चालकलाई अर्का एक अटो चालकले खादा ओडाएर सम्मान गरेपछि ट्राफिक प्रहरीले उनलाई सम्झाई बुझाई गरेको देखिन्छ ।

प्राप्त भिडियो अनुसार उक्त चालकले मापसे गरेको अवस्थामा सवारी साधन चलाइरहेका थिए । यसै क्रममा त्यहाँ उपस्थित अर्का एक अटो चालकले उनलाई खादा ओडाउँदै व्यङ्ग्यात्मक शैलीमा ‘सम्मान’ गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेका ट्राफिक प्रहरीले मापसे गरेर सवारी नचलाउन चेतावनी दिँदै नियमको पालना गर्न सम्झाएका छन ।

ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनु आफैं र अरूको ज्यान जोखिममा पार्ने गम्भीर अपराध भएको बताउँदै यस्तो कार्य दोहोरिन नदिन सबै चालकलाई सचेत रहन आग्रह गरेका छन ।

यस्तो गतिविधि बढ्दै जानु चिन्ताको विषय भएको भन्दै ट्राफिक नियम कडाइका साथ लागू गर्न पछिल्लो समय तुलसीपुरमा ट्राफिक प्रहरीले मापसे चेकिङ तथा ट्राफिक चेकिङ कार्यलाई तिव्रता दिएको बताएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस