दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मोतिपुर निवासी रुद्रमणी पौडेलले आफूले लगाएको रुद्राक्षको फल एक मुखे भेटिएपछि बिक्री गरेका छन् । कृषिको बागबानी अधिकृतबाट अवकाश जीवन बिताइरहेका पौडेलले घरमा दुई वटा रुद्राक्षको बोट रोपेका छन् । जसमा एउटा रुखबाट एउटा एक मुखे रुद्राक्ष भेटिएको थियो। त्यो रुद्राक्षलाई एक लाख २० हजारमा बिक्री गरेको उनले बताए ।
‘यो वर्ष एक मुखे दुईवटा थियो, एउटा चराले खाइदियो’,उनले भने ‘एउटा बाँकी थियो, त्यसलाई एक लाख २० हजारमा बिक्री गरेँ । ६ वर्षअघि उनले घरमा रुद्राक्ष रोपेका थिए। गएको वर्ष दुईवटा बोटबाट गरि ६ किलो मात्रै रुद्राक्ष उत्पादन भएको थियो । तर, यस वर्ष भने उत्पादन पनि वृद्धि भएको छ ।
यस वर्ष ३५ केजीभन्दा बढि उत्पादन भएको छ। एकसय ८ दानाको एउटा माला बन्ने भएकाले त्यही मालाको दरले विक्री गर्ने गरिएको छ । एउटा मालाको ६ सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।
रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने उनले बताए। एक मुखे र चौध देखि २१ मुखेसम्मका रुद्राक्ष लोपन्मुख मानिन्छन्। ति निकै महंगो जाने गर्छन् । गौरीशंकर, गणेश, मुखद्वार भएका रुद्राक्ष पनि महंगोमा नै विक्री हुने उनले बताए।



