दाङ, तुलसीपुर / भदौ १८
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा भारी वर्षाका कारण सबैभन्दा बढी प्रभावित वडाको रूपमा चिनिन थालेको छ । पछिल्ला दिनहरूमा लगातारको वर्षाले यहाँका सडकहरू पूर्ण रूपमा अस्तव्यस्त बनेका छन् भने बस्तीहरूमा रहेका थुप्रै घरहरू क्षतिग्रस्त भएका छन ।
वडाअध्यक्ष तुलसी थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षाले सिर्जित समस्याबारे गम्भीर ध्यानाकर्षण गराउँदै वडालाई विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न तीन तहका सरकारको ध्यानाकर्षण गराएका छन ।
उनले लेखेका छन्, “तुल्सीपुर उपमहानगरपालिका वार्ड नं ४ दाङ जिल्लामा सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर चिनिने गर्छ । भारी वर्षाको कारणले गर्दा यहाँका स्थानीय बाटाघाटाहरू अस्तव्यस्त साथै बस्तीका घरहरू भत्किएका छन् र उक्त समस्या हल गर्नका निम्ति तीन तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने र वडा नम्बर ४ लाई विपत उच्च जोखिम वडा भनेर घोषणा गर्नुपर्ने अवस्था छ ।”
स्थानीयवासीहरू पनि राहतको पर्खाइमा छन । विपदको समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीहरूको अवस्था अझै नाजुक बन्ने भएको हुदा स्थानियहरु चिन्तित बनेका छन । वडामा हुने नियमित आवागमन पनि प्रभावित बनेको छ । भारी वर्षाको कारण खोलानालाहरू उर्लिएका छन् जसका कारण बाढी र पहिरोको उच्च जोखिम रहँदै आएको छ ।
वडा अध्यक्ष थापाको आग्रहअनुसार संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा शीघ्र राहत तथा दीर्घकालीन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता देखिएको छ ।
