श्रावण १७, दाङ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) दाङको आयोजनामा आज एकदिने शिक्षक कार्यशाला “One Day Teachers’ Workshop on Progressive Education” शीर्षकमा सम्पन्न भएको छ। तुलसीपुरस्थित मट्का बैंक्वेटमा सम्पन्न भएको उक्त कार्यशालामा दाङ जिल्लाका विभिन्न निजी तथा आवासीय विद्यालयहरूबाट शिक्षकशिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले गर्नुभएको थियो भने केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्मा प्रमुख आतिथ्यता रहेको थियो । मुख्य प्रशिक्षकको रुपमा वरिष्ठ प्रशिक्षक राजेन्द्र दाहाल रहनुभएको थियो भने बिशिस्ट अतिथिमा केन्द्रिय सदस्य बिमल गौतम रहनुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि शर्माले वर्तमान शैक्षिक परिवेशमा शिक्षकमाथि बदलिँदो शिक्षण शैली र प्रविधिको गहिरो प्रभाव परेको उल्लेख गर्दै यस्तो प्रकारको तालिमले शिक्षकहरूलाई अझ दक्ष र उत्तरदायी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वरिष्ठ प्रशिक्षक राजेन्द्र दाहालले कार्यशालाको प्रमुख सहजीकरण गर्दै आधुनिक शिक्षण पद्धतिमा प्रगतिशील शिक्षाको अवधारणा, यसको आवश्यकता र विद्यालय स्तरमा यसको व्यवहारिक प्रयोगबारे विस्तृत प्रस्तुति दिनुभयो।
प्रशिक्षक दाहालले “प्रगतिशील शिक्षा भनेको केवल नयाँ प्रविधि प्रयोग गर्नु मात्र नभएर , यो शिक्षणको दृष्टिकोणमै आमूल परिवर्तन ल्याउने अभ्यास रहेको र शिक्षकले पाठ दिनु भन्दा सिकाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै अध्यक्ष भोजराज न्यौपानेले भने, “यो कार्यशालाको मुख्य उद्देश्य शिक्षकहरूमा प्रगतिशील शिक्षण विधि र समसामयिक सन्दर्भमा प्रयोग हुने सिकाइ प्रविधिबारे ज्ञान र दक्षता अभिवृद्धि गर्नु रहेको बताउनुभयो ।
अन्य सहभागी वक्ताहरूले शिक्षणमा सिर्जनशीलता, व्यवहारिकता र विद्यार्थीको सक्रिय सहभागिता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू समय-समयमा आवश्यक रहेको धारणा राखे।

कार्यक्रमको समापनमा सहभागी शिक्षकहरूले कार्यशालाबाट प्राप्त ज्ञानले आगामी दिनमा आफूहरूको शिक्षण प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।
नेशनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष लोकेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सचिब हरि प्रसाद भण्डारीले गर्नुभएको थियो ।
