दाङ,३१ जेठ । पत्रकार राजु चौधरीमाथि लुटपाट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जेठ २९ गते बेलुका साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवास्थित आइसक्रिम फ्याक्ट्री नजिक चौधरीमाथि लुटपाट भएको थियो।
तुलसीपुरस्थित नयाँ बसपार्कबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका ऐरावती गाउँपालिका ७ बस्ने २७ वर्षीय पत्रकार चौधरीलाई अपरिचित युवकले “मोबाइलमा ब्यालेन्स छैन, एकछिन फोन गर्न दिनुहोस्” भन्दै मोबाइल मागेका थिए। चौधरीले मोबाइल दिनासाथ ४/ ५ जना युवकहरू एक्कासी आएर उनलाई समातेका थिए र ‘बिमा तिर्नु छ’ भनेर साथमा रहेको नगद ३९ हजार रुपैयाँ, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारीको ब्लुबुक र पत्रकार परिचयपत्र लुटेर फरार भएका थिए। पीडित चौधरीले घटनापछि मिति २०८२ जेठ ३० गते बिहान इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा दाङको तुलसीपुर–४ का १५ वर्षीय धनिराम बिक, ऐरावती–३ का १५ वर्षीय विशाल पोख्रेल, ऐरावती–४ का २३ वर्षीय कुमार केसी र सोही स्थानका २१ वर्षीय शिरिष परियार (उर्फ नन्दे) लाई पक्राउ गरेको छ।
उनीहरूलाई हाल बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।