दाङ- राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारका पहिरोपीडितलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष ओलीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य नवीन रोकाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बाढीपीडित संघर्ष समितिका सदस्य निमबहादुर सुवेदीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
गत साउन २७ गते परेको अविरल वर्षापछि कोटलबारमा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो । पहिरोका कारण नौ वटा घरमा समेत क्षति पुगेको बताइएको छ ।
पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले युवा संघले सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा स्थानीय शिक्षक, प्रहरी, युवा संघका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति :
२०८३ भाद्र ७ गते आइतवार



