तुलसीपुर, दाङ – दाङको तुलसीपुरमा एक रेष्टुरेण्टमा कार्यरत एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ असार ३० गते राति करिब ९:३० बजे रेष्टुरेन्टमा काम गरिरहेकी महिलालाई रेडबुल लिएर कोठामा बोलाई ढोका बन्द गरी जबर्जस्ती करणी गरेको आरोप लागेको हो। पीडित महिलाले असार ३१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरको कमाण्डमा खटिएको टोलीले तुलसीपुर-१९ बाँसगढीबाट तुलसीपुर-७ निवासी अन्दाजी ४५ वर्षीय धनिराम भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पीडितको स्वास्थ्य परीक्षण गरिसकिएको छ भने उनलाई तुलसीपुर-६ गोलौरास्थित सेफ हाउसमा राखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दाङ जिल्ला अदालतबाट असार ३२ गते ७ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



