दाङ, असार १६ / दाङको बबई गाउँपालिका -३ स्थित पीसीओ चोककी ७२ वर्षीया सामरी सार्किनी घर नजिकैको नालामा मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब १:४५ बजे घरबाट “मासु लिन जान्छु” भन्दै निस्किएकी सामरी केहीबेर पछि घर नजिकै रहेको नालामा मृत अवस्थामा भेटिएकी हुन्। उनका छोराहरूले शव फेला पारी घरमा ल्याएपछि दिउँसो २:२० बजे प्रहरी चौकी पुरन्धारालाई जानकारी गराएका थिए।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पुरन्धाराबाट प्रहरी सहायक निरीक्षक मायालाल बुढाको नेतृत्वमा २ जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार मृतक सामरी सार्किनीका श्रीमानको यसअघि नै निधन भइसकेको छ। उनी दुई छोरा र तीन बुहारीसँग बस्दै आएकी थिइन् भने कान्छो छोरा रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्।
सामरीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



