दाङ, असार १५ दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउ एयरपोर्ट नजिकै रझेनामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ११ बजे रझेनाबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा ७ प ९९१९ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको रा ४ प १०४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।
दुर्घटनामा रा ७ प ९९१९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर-१२ रझेनाका २८ वर्षीय भुवन केसी गम्भीर घाइते भएका छन्। उनको टाउको, अनुहार तथा दुवै हात–खुट्टामा चोट लागेको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।
यस्तै रा ४ प १०४८ नम्बरको मोटरसाइकल चालक बबई गाउँपालिका-७ चरकमटियाका २४ वर्षीय रोशन बस्नेत पनि गम्भीर घाइते भएका छन्। उनको टाउको, छाती तथा दुवै खुट्टामा चोट लागेको छ। राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही रिफर गरिएको छ।
दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



