दाङको कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका एक मजदुरको बालुवाले पुरिएर मृत्यु भएको छ। गढवा गाउँपालिका–२ निवासी ४५ वर्षीय लालमणि यादवको शनिबार बिहान जेसिबीले फालेको बालुवामा पुरिँदा ज्यान गएको हो।
बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिद्वारा सञ्चालित बिटुमिन प्लान्टमा काम गरिरहेका यादवलाई त्यहाँ काम गरिरहेको थाहा नपाई जेसिबी चालकले बालुवा फालेपछि दुर्घटना भएको बताइएको छ। गम्भीर घाइते भएका यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि जेसिबी र चालक अनिल कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति :
२०८३ जेष्ठ ३० गते शनिवार



