रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ बल्ले क्षेत्रमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षित रूपमा डिस्पोज गरेका छन्।
स्थानीयवासी गाईवस्तु चराउन जाँदा वीरबहादुर पुनको बारीमा सकेट बम जस्तो देखिने वस्तु फेला परेपछि वडा अध्यक्ष टेकबहादुर पुन मार्फत प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि प्रहरी चौकी पुर्तिंकाँडाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम तथा मुसिकोट स्थित श्री चण्डीदल गणबाट उपसेनानी विप्लव मैनालीको नेतृत्वमा बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। टोलीले शंकास्पद वस्तुको परीक्षण गर्दा फायरिङ पिन भएको पुरानो सकेट बम रहेको अनुमान गरी आइतबार साँझ ४:४५ बजे सुरक्षित रूपमा डिस्पोज गरेको प्रहरीले जनाएको छ।
उक्त क्षेत्र विगत द्वन्द्वकालमा दोहोरो भिडन्त भएको स्थान नजिक पर्ने भएकाले पुरानो विस्फोटक सामग्री भेटिएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले यस्ता शंकास्पद वस्तु देखिए तत्काल सुरक्षा निकायलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



