दाङको तुलसीपुर उपमहानगरपालिका–८ बटोलपुर स्थित भमके खोला र पातुखोलाको दोभान क्षेत्रमा भइरहेको नदीजन्य पदार्थ उत्खननबारे सार्वजनिक चासो बढिरहेका बेला दाङ क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुबेदी ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सांसद सुबेदीले फेसबुक मार्फत उक्त क्षेत्रमा खोलिएको ठेक्का टेन्डर तथा दाङका विभिन्न खोला किनारामा मापदण्ड विपरीत उत्खन्नन भइरहेको विषयमा व्यापक जनगुनासो प्राप्त भइरहेको उल्लेख गरेका छन्। उनले प्राकृतिक स्रोत–साधनको उपयोग कानुन, वातावरणीय मापदण्ड तथा स्थानीय समुदायको हित अनुसार हुनुपर्ने स्पष्ट धारणा राख्दै यस विषयमा आफूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताएका छन्।
“विकास आवश्यक छ, तर वातावरणीय सन्तुलन, जनसुरक्षा र कानुनी प्रक्रियाको पालना अझ आवश्यक छ,” सांसद सुबेदीले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्। साथै उनले मापदण्डविपरीत उत्खन्नन नगर्न तथा प्रचलित कानुन र निर्धारित मापदण्डको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन्।
सांसद सुवेदीको फेसबुक पोष्ट : सांसद सुबेदीको पोष्ट हेर्न यहाँ क्लिक गर्नुहोस
गत जेठ ८ गते ‘तुलसीपुर–८ बटोलपुरमा नदीजन्य पदार्थ उत्खनन स्थल’ शीर्षकमा CNTPress ले भिडियो सार्वजनिक गरेको थियो। उक्त भिडियो सार्वजनिक भएपछि स्थानीय तहमा नदी उत्खननको विषय फेरि चर्चामा आएको हो। भिडियो मार्फत उत्खनन गतिविधिबारे प्रश्न उठेपछि सांसद सुबेदीको समेत ध्यानाकर्षण भएको बुझिएको छ।
भिडियो हेर्नुहोस : तुलसीपुर ८ बटोलपुरमा नदीजन्य पदार्थ उत्खनन स्थल ( भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस )
स्थानीयवासीहरूले अनियन्त्रित उत्खन्ननका कारण वातावरणीय असर, नदी कटान तथा बस्ती जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन्।



