दाङ । घोराही उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले बिद्यार्थिको पठनपाठनलाई मध्यनजर गर्दै आईतबार पनि सामुदायिक बिद्यालय सन्चालन गर्ने निर्णय गरेको छ । संघिय सरकारले आईतबार बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, पालिकाले बिद्यार्थिको हितमा भन्दै बिद्यालय खोल्ने निर्णय गरेको छ ।
सोही अनुसार निर्णय कार्यान्वयन गर्न घोराहीका सामुदायिक बिद्यालयका प्रधानाध्यापकलाई बोलाएर उपमहानगरले निर्देशन दिइसकेको छ । अर्को ब्यवस्था नभएसम्मका लागि आईतबार पनि बिद्यालय खोल्ने निर्णय भएको मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । उहाँले निजि बिद्यालय आईतबार पनि यसअघि नै सन्चालन भइरहेकाले सामुदायिक बिद्यालयमा पनि आईतबार पढाउने अभिभाबक र पढ्ने बिद्यार्थीको हितमा निर्णय गरिएको पनि बताउनु भयो । बर्खे बिदा र आइतबारको बिदा कसरी समायोजन गर्ने भन्ने बारे निर्णय हुन बाकी रहेकाले अर्को ब्यवस्था नभएसम्म आईतबार बिद्यालय खोल्ने कार्यपालिकाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
हिजो सामुदायीक बिद्यालयका प्रधानाध्यापकहरुले उपमहानगरले बोलाएको बैठकमा निजि बिद्यालय आईतबार सन्चालन हुने अबस्थामा आफुहरुले सामुदायिक बिद्यालय आइतबार बन्द गर्न नसक्ने बताएका थिए । निजि बिद्यालय आईतबार बन्द हुने अबस्थामा सामुदायिक बिद्यालय पनि आईतबार बन्द गर्न सकिने प्रअहरुले बैठकमा बताएका थिए ।



