हस्तान्तरण पछि अलपत्र अरनिको मैदानको शौचालय : जेसिजले बनायो नगरले चलाएन

दैनिक सयौँ खेलाडीले अभ्यास गर्ने तथा स्थानीय देखि राष्ट्रिय स्तर सम्मका खेलकुद आयोजना हुने तुलसीपुरकै सबैभन्दा पुरानो खेल मैदान अरनिको खेल मैदानमा खेलाडीहरुलाई शौचको लागी समस्या हुने गरेको छ ।

खेलाडीलाई हुने शौचको समस्यालाई मध्यनजर गर्दै तुलसीपुर नगर जेसिजले सार्वजनिक शौचालय निर्माण गरेर तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिसके पनि हस्तान्तरण भएको करिब ३ महिना बितिसक्दा पनि उक्त शौचालय प्रयोगमा आउन सकेको छैन । २०८१ भदौ २२ गते शौचालयको शिलान्यास गरेर निर्माण थालेको तुलसीपुर नगर जेसिजले करिब १६ महिना लगाएर निर्माण सम्पन्न गरि २०८२ पुष २९ गते तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

सम्पूर्ण स्वामित्व, सन्चालन, मर्मत सम्भार तथा व्यवस्थापनको जिम्मेवारी तुलसीपुर उपमहानगरपालिकाको हुने गरी तुलसीपुर नगर जेसिजले दुई पक्षिय सम्झौता गरेर शौचालय हस्तान्तरण गरेपनि तुलसीपुर उपमहानगरपालिकाले भने वास्ता नै नगरेको पाइएको छ ।

एकैपटकमा १० जना महिला तथा १० जना पुरुषले प्रयोग गर्न सक्ने शौचालय तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरे पश्चात मेयर टिकाराम खड्काले तुलसीपुर नगर विकास समिती मार्फत सन्चालन गर्ने बताएका थिए । हाम्रो प्रश्न “शौचालय किन सन्चालनमा आउन सकेन ?” भन्दा मेयर खड्का जवाफ दिन्छन : “नगर विकासले सन्चालन गर्ने हो, हामीसँग जनशक्ती छैन । अरनिको मैदानलाई स्तरोन्नती गर्न पालिकाले २५ लाख बजेट छुट्याएको छ, उक्त बजेटबाट काम भयो भने एकैपटक हामी निर्णय गर्छौँ ।” त्यहि मैदान मै तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले पनि केहि समय पहिले करिब सहत्तर हजार बराबरको लागतमा शौचालय निर्माण गरेको थियो तर उक्त शौचालय पनि हाल प्रयोग गर्न मिल्ने अवस्थामा छैन ।

खेल मैदानमा शौचालयको समस्या हुँदा खेलाडीहरु नजिकैको होटल चाहार्दै हिँड्नुपर्ने वा खुल्ला शौच गर्न बाध्य भएका छन ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस