प्रिय तिमीलाई म के लेखूँ?? – सरिष्मा रिमाल

तिमीलाई बिहानी लेखूँ भने,
सन्ध्याको ओझेलमा हराउछौँ
तिमीलाई सन्ध्या लेखूँ भने,
अँध्यारोको गहिराइमा डुब्छौँ।

तिमीलाई मुस्कान लेखूँ भने,
पूरा सहर नै हाँस्न थाल्छ
तिमीलाई आँसु लेखूँ भने,
धारा जस्तै अबिरल बग्न थाल्छौं।

तिमीलाई प्रेम लेखूँ भने,
केही न केही दाग अवशेष रहन्छ
तिमीलाई सम्बन्ध लेखूँ भने,
गुनासोको स्वरमा रुपान्तरित हुन्छ।

तिमीलाई भीड लेखूँ भने,
तिमी अदृश्य भइदिन्छौ
तिमीलाई एक्लोपन लेखूँ भने
सिरानी नै सिक्त भइदिन्छ।

तिमीलाई प्राण लेखूँ भने,
पीडाका नश्तरहरू चसक्क घोचिन्छन्
तिमीलाई चाहना लेखूँ भने,
तिमी कुहिरोजस्तै विलीन हुन्छौ।

तिमीलाई आकाश लेखूँ भने,
स्वप्नका उचाइहरु अग्ला देखिन्छन्
तिमीलाई धरती लेखूँ भने,
सारा सृष्टि तिमी मै समेटिन्छ।

हरेकपल तिमीलाई
भोलिको सोचमा सम्झिरहन्छु,
शब्दमा उतार्न खोज्दा पनि
सधैं शब्दभन्दा विशाल भइदिन्छौ।

✍️ : सरिष्मा रिमाल

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस