दाङ, तुलसीपुर बजार क्षेत्रमा नक्कली नोटको प्रयोग बढ्दै गएको आशंकाबीच तुलसीपुरका व्यापारीहरू त्रसित बनेका छन । हालै तुलसीपुरस्थित एक केक पसलमा नक्कली रु.१,००० रुपैयाँको नोट फेला परेपछि यस विषयले थप चासो पाएको हो ।
रानी केकको तुलसीपुर आउटलेटमा गत चैत ७ गते एक ग्राहकले सामान खरिद गर्दा १,००० रुपैयाँको नक्कली नोट प्रयोग गरेको पाइएको हो । पसलका कर्मचारीहरूले नोटको बनावट शंकास्पद देखेपछि परीक्षण गर्दा उक्त नोट नक्कली भएको पुष्टि भएको थियो ।
स्थानीय व्यापारीहरूका अनुसार, यो पहिलो घटना मात्र होइन, केही समययता विभिन्न पसलहरूमा पनि यस्तै नक्कली नोट भेटिने क्रम बढेको बताइएको छ । “हामीले पनि केही दिनअघि यस्तै नोट फेला पारेका थियौं,” एक व्यापारीले नाम नबताउने सर्तमा भने, “तर कसले ल्यायो भन्ने थाहा पाउन गाह्रो छ ।”
यस घटनाले बजारमा नक्कली नोट प्रयोग गर्नेको सञ्जाल सक्रिय भएको हुनसक्ने आशंका बढेको छ । व्यापारीहरूले अब नगद कारोबार गर्दा विशेष सावधानी अपनाउन थालेका छन ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुर ले भने यस विषयमा हालसम्म औपचारिक जानकारी नआएको जनाएको छ । प्रहरी स्रोतका अनुसार, कुनै उजुरी नआएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको छैन । तर, यस्ता घटनाहरू भएमा तत्काल जानकारी दिन आग्रह गरिएको छ।
सतर्कता अपनाउन आग्रह
विशेषज्ञहरूका अनुसार, नक्कली नोट छुट्याउनका लागि नोटको कागजको गुणस्तर, पानी छाप ( watermark), सुरक्षा धागो र रंग परिवर्तन हुने इन्कको ध्यान दिनुपर्छ । साथै, शंकास्पद नोट भेटिएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिनु आवश्यक हुन्छ ।
बजारमा फैलँदै गएको यस्तो गतिविधिले आम सर्वसाधारणदेखि व्यापारीसम्म सबैलाई सतर्क रहनुपर्ने देखिएको छ ।



