दाङको तुलसीपुर स्थित बसपार्क क्षेत्रमा रहेको अस्थायी प्रहरी बिट यतिबेला व्यवस्थापन र सुरक्षाको दृष्टिले प्रश्नको घेरामा परेको छ । उक्त प्रहरी बिटभित्रै एक अज्ञात वेवारिसे व्यक्ति विगत करिब दुई महिनादेखि बस्दै आएको तथ्य बाहिरिएको छ ।
ती व्यक्तिले प्रहरी बिटभित्रै बिस्तारा राखेर सुत्ने गरेका छन । स्थानीयका अनुसार उनी अधिकांश समय मदिरा सेवन गरी मातेको अवस्थामा देखिन्छन् र बेलाबेलामा होहल्ला समेत गर्ने गरेका छन ।
बसपार्क वरपरका व्यापारीहरू भन्छन, “दिनरात त्यही बस्छ, मदिरा सेवन गरेर कराउँछ । प्रहरीकै ठाउँमा यस्तो हुँदा हामी कसरी सुरक्षित हुने ?” उनीहरूका अनुसार उक्त व्यक्तिको गतिविधिले व्यवसायिक वातावरणमा समेत नकारात्मक असर पारेको छ ।
तर आश्चर्यजनक रूपमा, अस्थायी प्रहरी चौकी बसपार्कका इन्चार्ज विष्णु श्रेष्ठ भने यसबारे आफुहरूलाई कुनै जानकारी नभएको बताउँछन उनी भन्छन “हामी त्यही ड्युटीमा हुन्छौँ, त्यस्तो केही छैन ।”
दैनिक सयौं यात्रु ओहोरदोहोर गर्ने संवेदनशील क्षेत्रमा रहेको प्रहरी बिटमै यस्ता गतिविधि हुँदा सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ ।
अब चासोको विषय बनेको छ—प्रहरीकै उपस्थितिमा यस्तो अवस्था कसरी सम्भव भयो ? यसको जिम्मेवारी कसले लिने?



