दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं ३ मा पर्ने शिरखोलाबाट प्रहरीकै मिलेमतोमा तस्करले ढुङ्गा चोरी गर्ने गरेको पाइएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको मिलेमतोमा खोलाबाट ढुङ्गा चोरी हुने गरेको प्रहरीले नै बताउँछन । स्थानीयले खोलामा ट्याक्टर हालेर ढुङ्गा चोर्दै गर्दा प्रहरीलाई खबर गर्दा प्रहरीले विभिन्न बाहनामा ढिला गर्ने र ट्याक्टर त्यहाँबाट भागे पछि मात्रै पुग्ने गरेको पाइएको छ ।

गोटीखोला पुलिस चौकीका इन्चार्ज अ.स.ई बालकृष्ण खड्का भन्छन “माथीबाट नसमात्ने आदेश छ । ईलाकामा उनीहरु के गर्छन, कसो गर्छन ?ईलाकाबाट…अँ.. दिउसो उ नगर्नुस, राती आए यसो उ गर्नुहोला भन्छन । म बाट त्यस्तो छैन ।” यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डि.एस.पी होम बहादुर पराजुलीले भने आफुहरु कसैको मिलेमतो नभएको बताउँछन । उनी भन्छन “हाम्रो त्यस्तो आदेश हुँदैन, मिलेमतो साँठगाँठ छैन । हाम्रो ल्याकतले भ्याए सम्म समात्ने गरीराछौँ । मैले समात्न आदेश दिएको छु । जिल्लाबाट एस.पी साबको पनि आदेश त्यही छ ।”
तर तुलसीपुर ३ शिरखोलाबाट दिनदहाडै ढुङ्गा चोरी हुँदा पनि प्रहरी भने नदेखेझैँ गर्छ । प्रमाण हुँदाहुँदै पनि कारबाही गर्ने आँट गर्दैन बरु लाज पचाएर माथीको आदेश भएको भन्दै गैरजिम्मेवार बन्छ ।



