तुलसीपुर उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि अर्थोटिक्स तथा प्रोस्थेटिक्स सेवा सहित सहायक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओम पी. न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले प्रमुख अतिथिका रूपमा उपस्थिती जनाएका थिए।
संघीय ससर्त बजेट अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा करिब ७ लाख रुपैयाँको लागतमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम मार्फत २२ जनालाई ह्विलचेयर, कृत्रिम हातखुट्टा लगायतका सहायक सामाग्री वितरण गरिनुपर्नेमा १७ जनालाई सहायक सामाग्री वितरण गरिएको छ भने ५ जना अनुपस्थित भएका कारण अर्को कार्यक्रम गरी वितरण गरिने छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त र आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त जरुरी भएको बताउँदै आगामी वर्षहरूमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाए।
उक्त कार्यक्रममा नेपालगंज मेडिकल कलेज, शारीरिक पुनर्स्थापना केन्द्र कोहलपुर बाँकेले प्राविधिक सहकार्य गरेको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउने र सामाजिक समावेशितामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाको सूचना अधिकारी यज्ञ के.सी ले गरेका थिए
Facebook Comments Box

