दाङको घोराही उपमहानगरपालिका–१५ स्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनका क्रममा खटिएका निर्वाचन अधिकृत अजय बोहरामाथि भएको दुर्व्यवहारको घटनाप्रति घोराही उपमहानगरपालिकाका कर्मचारीहरूले घोर भर्त्सना गरेका छन्।
कर्मचारीहरूले जारी गरेको विज्ञप्तिअनुसार वडा नं. १५ का वडा सदस्य लेखनाथ बुढाथोकी ‘उत्तम’ ले निर्वाचन अधिकृत बोहरामाथि प्रज्वलनशील पदार्थ मोबिल छर्किनुका साथै गालीगलौच र भौतिक आक्रमण गर्ने नियतसहित अमानवीय तथा गैरकानुनी व्यवहार गरेका थिए। उक्त घटनालाई कर्मचारीहरूले निन्दनीय र आपराधिक कार्यको संज्ञा दिएका छन्।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र फरक विचार स्वाभाविक भए पनि राष्ट्रसेवक कर्मचारीमाथि अपमानजनक व्यवहार, कालो मोबिल खन्याउने जस्ता अमर्यादित कार्य कानुनी शासन, सुशासन तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गरिएको छ।
कर्मचारीहरूले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन्। साथै सार्वजनिक जिम्मेवारीमा खटिने कर्मचारीहरूले कुनै दबाब, डर वा दुर्व्यवहारबिना आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने वातावरण सुनिश्चित गर्न राज्यसँग आग्रह गरेका छन्।
घोराही उपमहानगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट जारी विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक वातावरण निर्माण गर्न र दोषीलाई कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
विज्ञप्ति-




