देउखुरीमा रोपाइँ गर्दैगर्दा खेतमा भेटियो अजिङ्गर 

दाङको देउखुरीमा धान रोपाइँ गरिरहेको समयमा एउटा ठूलो अजिङ्गर फेला परेको छ। लमही नगरपालिका-१, सुन्डबरी निवासी बुद्धि चौधरीको खेतमा बिहीबार बिहान रोपाइँ गर्ने क्रममा उक्त अजिङ्गर देखिएपछि स्थानीयहरू त्रसित बनेका थिए।

खेतमा काम गरिरहेका किसानहरूले अचानक विशाल सर्प देखेपछि भागाभाग गर्दै त्रासको वातावरण सिर्जना भएको थियो। स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि, देउखुरीका पत्रकार एवं सर्प उद्धारकर्ता शिबु खनाललाई घटनाको जानकारी दिइएको थियो।

सूचना प्राप्त हुनासाथ उद्धारकर्ता खनाल तत्कालै घटनास्थलमा पुगेका थिए। उनले निकै सावधानी र कुशलताका साथ उक्त अजिङ्गरलाई नियन्त्रणमा लिई सुरक्षित रूपमा उद्धार गरेका छन्।

उद्धारपछि खनालले जानकारी दिएअनुसार उक्त अजिङ्गर करिब डेढ मिटर लामो र झण्डै पाँच किलो तौलको रहेको छ। उद्धार गरिएको सर्पलाई सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा लगेर छोडिएको छ। मानवीय बस्ती नजिक अजिङ्गर फेला परेपछि केही बेर स्थानीय त्रसित भए पनि खनालको समयमै पुगेको उद्धार कार्यले ठूलो राहत मिलेको छ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस