लागू औषध दुरुपयोगविरुद्ध सचेतना कार्यक्रम

तुलसीपुर, असार १२
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा “लागू औषध चुनौती चिनौँ, सामाजिक बाटो खोजौँ” भन्ने नारासहित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालयकाे आयाेजना तथा तुलसीपुर १९ मा रहेकाे नयाँ पाइला पुर्नस्थापनाकेन्द्रकाे संयाेेजनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा लागू औषधको असर, रोकथाम तथा पुनर्स्थापनाका उपायबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।
शिक्षालयका प्रमुख  वसन्त आचार्यकाे  अध्यक्षतामा कार्यक्रम सम्पन्न  भएको थियो भने सहायक प्रमुख गोपाल रेग्मीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नयाँ पाइला पुनर्स्थापना केन्द्रका मनोपरामर्शकर्ता शैलेश शर्माले लागू औषध दुर्व्यसनका कारण र समाधानका उपायबारे प्रशिक्षण दिनुभएको थियो ।

परामर्शकर्ता शर्माले दुर्व्यसनमा फसेका व्यक्तिमा विद्यालय छोड्ने, नियमित कक्षा नआउने, समयको गलत प्रयोग गर्ने, शारीरिक पीडा, अत्यधिक र्‍याल आउनेलगायतका लक्षण देखिन सक्ने बताउनुभयो । किशोरावस्थाको उत्सुकता, गलत साथीको संगत र पारिवारिक तथा सामाजिक वातावरणले पनि दुर्व्यसनतर्फ धकेल्न सक्ने उहाँको भनाइ थियो ।

उहाँले अल्कोहललगायतका पदार्थको दुरुपयोगले स्नायु प्रणालीमा गम्भीर असर पार्ने र विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्यसम्बन्धी समस्याका रूपमा लिएको जानकारी दिनुभयो । नवीनतम् उपचार, परामर्श र सामाजिक सहयोगबाट दुर्व्यसन न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रमले विद्यार्थीमा लागू औषधविरुद्ध सचेतना अभिवृद्धि गर्दै स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन प्रेरणा दिएकाे छ । कार्यक्रमकाे सञ्चालन शिक्षक केपि न्याैपानेले गर्नुभएकाे थियाे

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस