रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति करिब ११ बजे माछा मार्ने क्रममा करेन्ट लागेर मुसिकोट- १ मैदानका २५ वर्षीय सुन्दर भण्डारी गम्भीर घाइते भएका थिए।
घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको भए पनि उपचारकै क्रममा सोमबार बिहान ३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाफिकोट गाउँपालिका -८ का २६ वर्षीय मनराज बाठा मगर, मुसिकोट- १ का ३० वर्षीय खिमबहादुर बुढा, मुसिकोट- ५ सेरीगाउँका २५ वर्षीय राजकुमार वली र सिन्धुलीको तिनपाटन गाउँपालिका -९ का १९ वर्षीय नवीन मगर रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति :
२०८३ असार ८ गते सोमवार



