दाङ — दाङको तुलसीपुर–७, बसन्तपुरका सुरेश विश्वकर्माको जीवन अहिले अस्पतालको बेडमै सीमित छ । तीन महिनादेखि उठ्न, हिँड्न र काम गर्न नसक्ने अवस्थामा पुगेका उनी अहिले न्याय र उपचार दुवैका लागि संघर्ष गरिरहेका छन ।
२०८२ भदौ २३ गते नारायणपुर क्षेत्रमा भएको एक दर्दनाक हिट एन्ड रन घटनाले उनको जीवन नै बदलिदियो । घोराहीका ठेकेदार ईश्वर पुनको स्वामित्वमा रहेको टिपर गाडीले गलत साइडबाट आएर उनलाई ठक्कर दियो । दुर्घटनापछि चालक फरार भयो र गम्भीर घाइते अवस्थामा रहेका सुरेशलाई सडकमै छाडियो ।
घटनापछि गाडीधनीले “सबै उपचार खर्च बेहोर्छु” भन्दै पीडित परिवारलाई आश्वासन दिए । तर, त्यो आश्वासन मात्र सीमित रह्यो । सुरेशका अनुसार, उनका अशिक्षित अभिभावकलाई झुक्याएर उजुरी नै नगर्न दबाब दिइयो, जसका कारण समयमै मुद्दा दर्ता हुन सकेन ।
अहिले सुरेश काठमाडौंस्थित बीर अस्पतालको बेड नम्बर १२८ मा उपचाररत छन हातको उपचार हुँदै आए पनि खुट्टाको जटिल शल्यक्रिया अझै हुन सकेको छैन । उपचार ढिला हुँदै जाँदा उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ ।“म तीन महिनादेखि ओछ्यानमै छु, हिँड्न सक्दिनँ, काम गर्न सक्दिनँ । अब के हुन्छ भन्ने चिन्ता लागिरहेको छ,” सुरेशले आफ्नो पीडा व्यक्त गरे ।
झन् पीडादायी कुरा के छ भने, घटना सम्बन्धी केस दर्ता भइसकेको भए पनि गाडीधनी ईश्वर पुन अझै पक्राउ परेका छैनन, उल्टै उनले “जे गर्न सक्छौ गर” भन्दै धम्की दिने गरेको पीडितको आरोप छ ।
सुरेश भन्छन, “केस दर्ता भएर पनि कारबाही हुँदैन भने न्याय कहाँ पाउने ? यस्तो हुँदा त अपराधीलाई नै हौसला मिल्छ ।”
आफ्नो जीवन नै संकटमा परेको भन्दै उनले गृह मन्त्रीसमक्ष भावुक अपिल गरेका छन । उनले प्रहरीको भूमिकामाथि निष्पक्ष छानबिन, दोषीलाई तत्काल पक्राउ, आफ्नो शल्यक्रिया र उपचारको व्यवस्था तथा खर्चका लागि तत्काल राहत उपलब्ध गराउन माग गरेका छन ।
“न्याय ढिला हुनु भनेको न्याय नहुनु हो, र उपचार ढिला हुनु भनेको जीवन गुम्नु हो,” उनको यो वाक्य अहिले उनको अवस्थाको सजीव चित्रण बनेको छ ।
सुरेशको यो पीडादायी कथा केवल एउटा दुर्घटनाको कथा मात्र होइन, यो हाम्रो प्रणाली, न्याय र मानवीय संवेदनशीलताको परीक्षा पनि हो । अब प्रश्न उठेको छ—के राज्य समयमै जाग्छ, कि अर्को एउटा जीवन ढिलासुस्तीको शिकार बन्छ ?




