मन्था चक्रवातको प्रभावले दाङसहित तराईका धान खेतीमा क्षति

ओम आचार्य १४, कार्तिक । भारतको पूर्वी तटबाट उत्पन्न भएको मन्था चक्रवातको प्रभाव नेपालका दक्षिणी भेगहरूमा समेत पुगेको छ। पछिल्ला केही दिनयता परेको लगातार वर्षा र हावाहुरीका कारण दाङ, बाँके, बर्दिया, कपिलवस्तु, बारा लगायतका तराईका जिल्लाहरुमा धान खेतीमा ठूलो क्षति पुगेको छ। धान भित्राउने तयारीमा रहेका किसान पानी परेपछि बाली भिजेकाले चिन्तित भएका छन्। कतिपय स्थानमा काटिएको धान सिधै खेतमै कुहिन समेत थालेको किसानहरूले बताएका छन्।
दाङका एकजना कृषक तेजबहादुर चौधरीका अनुसार, “रोप्ने बेला खडेरीले हैरान पार्यो, अहिले भित्राउने बेला लगातार पानीले खेत डुब्यो। काटेको धान सुकाउनै नसक्ने अवस्था छ।” त्यस्तै, कृषक गोमा शर्माले भनिन्, “धान हिलोमा टाँसिएर उठाउनै गाह्रो भयो, अङ्कुरण समेत आउँदा यो वर्ष हाम्रो धेरै क्षति हुने भयो।”
कृषि प्राविधिकहरूको भनाइमा, मन्था चक्रवातको कारण उत्पन्न वर्षाले धानको गुणस्तरमा प्रत्यक्ष असर पार्नेछ। लगातार बर्षाका कारण धान उम्रिने अंकुर फूट्ने समस्या देखिन सक्छ, जसले बजार मूल्यमा गिरावट ल्याउन सक्छ। प्रारम्भिक मूल्यांकन अनुसार जिल्लाभर करिब ५०० हेक्टरभन्दा बढी खेत प्रभावित भएको अनुमान गरिएको छ।
मौसम विज्ञान विभागले भने अझै आज दिनभर वर्षा र हावाहुरीको सम्भावना रहन सक्ने चेतावनी दिएको छ भने विभागले किसानहरूलाई धान सुकाउने अस्थायी उपाय अपनाउन र खेतको पानी निकास सुनिश्चित गर्न अनुरोध गरेको छ। शनिवार साझँबाट आकास आंशिक सुधार देखिए पनि देशभर सोमबारबाट आकाश पूर्ण सफा रहने जानकारी विशेषज्ञहरूले दिएका छन्। यस्तै कृषि विज्ञका अनुमानमा यस चक्रवातले यस वर्षको धान उत्पादनमा ५ देखि १० प्रतिशतसम्म गिरावट ल्याउन सक्छ, जसको असर स्थानीय खाद्यान्न आपूर्तिमा समेत देखिन सक्नेछ।
किसानहरुलाई कृषि विमामा संलग्न नहुँदा किसानले विगतका बर्ष झैँ ठूलो आर्थिक क्षति भोग्नुपर्नेछ। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनको क्षति न्यूनिकरण गर्न कृषि प्रविधिमा व्यापक सुधार सहित किसानलाई कसषि विमामा संलग्न गराउन नसक्दा कृषि क्षेत्र संकटमा परेको छ। कृषि क्षेत्रको उत्थानको लागि सम्पूर्ण सरोकारवालाहरु सचेत रहेर विषेश कदम चाल्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस