दाङ, तुलसीपुर / विगत चार वर्षदेखि परम्परागत लिङ्गे पिङ निर्माण गर्दै आएको लायन्स क्लब अफ दाङ क्यापिटलले यस वर्ष पनि दशैंलाई लक्षित गरी दोघरेस्थित शशस्त्र क्याम्प नजिक लिङ्गे पिङ निर्माण गरेको छ ।
संस्कृति र मौलिकता संरक्षण गर्ने उद्देश्यले क्लबले प्रत्येक वर्षको दशैँमा लिङ्गे पिङ बनाउदै आएको छ । यस वर्ष पनि बनाइएको पिङ बालबालिकादेखि वयस्क सम्मको रमाइलो केन्द्र बनेको छ ।
लायन्स क्लबका पदाधिकारीहरूले पिङ निर्माण मार्फत अहिले लोपोन्मुख अवस्थामा पुगेको लोकसंस्कृतिलाई पुनः उजागर गर्ने प्रयास गरिरहेको बताएका छन्। क्लबका अध्यक्षका अनुसार, “हामी आधुनिक प्रविधिका बीच मौलिक संस्कृति बिर्सन नपरोस् भन्ने हेतुले हरेक वर्ष लिङ्गे पिङ बनाउँदै आएका बताएका थिए ।
पिङ खेल्ने क्रममा हाँसो, उमंग र एकआपसमा सम्बन्ध सुदृढ गर्ने वातावरण बन्ने भएकाले यसलाई सामाजिक सद्भावको माध्यमका रूपमा समेत लिने गरिन्छ ।
स्थानीय युवाहरू, बालबालिका र अभिभावकहरूले क्लबको यो प्रयासको प्रशंसा गरेका छन् । “दशैं भनेको लिङ्गे पिङ हो भन्ने अनुभूति यसले दिलाउँछ,” एक अभिभावकले बताए ।



