
तुलसीपुर, वैशाख १३

‘उद्यमशिलतामा महिला सहभागिता, समृद्ध तुलसीपुर हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा महिला उद्यमी भेला तथा नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मिनाकुमारी के.सी.को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ। समितिको उपाध्यक्षमा दुर्गा शर्मा, महासचिवमा टीका के.सी., कोषाध्यक्षमा मधु खड्का, सचिवमा दुप्रता रोका, सह-कोषाध्यक्षमा उर्मिला चौधरी र सदस्यहरूमा दुप्रता बिक, माया बुढा, भगवती शर्मा, कल्पना ओली र कमला अधिकारी चयन हुनुभएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर के.सी. को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जि.सी. को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विशिष्ट अतिथिहरूमा नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लब अधिकारी र महासंघका सल्लाहकार शरद अधिकारी रहनुभएको थियो भने अतिथिहरुमा सदस्य इश्वरी गैरे लगाएत रहनुभएको थियो ।
प्रमुख अतिथि वडा अध्यक्ष राम बहादुर जि.सी.ले महिलाहरूले आत्मनिर्भर बन्नका लागि उद्यमशिलता अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले उद्यमी महिलाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिलाहरूले उद्यमशिलताको माध्यमबाट आर्थिक क्रान्ति गर्न सकिने बताउनुभयो।
विशिष्ट अतिथि लब अधिकारीले महिलाले नेतृत्वदायी भूमिकामा अगाडि बढ्नुपर्ने र घरेलु तथा साना उद्योग क्षेत्रले महिलालाई थप अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै विशिष्ट अतिथि शरद अधिकारीले महिला उद्यमीहरूका लागि सीप विकास र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै संस्थागत रुपमा महिलाको सहभागिता बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
तुलसीपुरका अध्यक्ष के.सी.ले महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउँदै नेतृत्व क्षमताको विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले घरेलु तथा साना उद्योग क्षेत्र मार्फत महिलाहरूलाई व्यवसायमा अग्रसर गराउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले महिलाको क्षमता अभिवृद्धि गर्न महासंघ प्रतिबद्ध रहेको बताउनुभयो। साथै महिला उद्यमीहरूले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सक्ने अवसर यस्ता कार्यक्रमहरूले सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
अतिथि इश्वरी गैरेले महिलाले आर्थिक स्वतन्त्रता हासिल गर्न व्यवसाय र साना उद्योग क्षेत्रमा अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले सीपमा आधारित व्यवसायहरूले महिलाको जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी सबै अतिथिहरुले महिलाहरुलाई आत्मनिर्भर बनाउने, नेतृत्व विकास गर्ने र उद्यमशीलतामा सहभागिता बढाउने सुझाव दिनुभएको थियो। प्रशिक्षणका क्रममा महिला उद्यमीहरूलाई व्यवसायिक ज्ञान, सीप र व्यवहारिक दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।