
हिरालाल वली, फागुन २३
स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) विश्वविद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको साझा संस्था हो, यसले विद्यार्थी को हक, हित, र अधिकारको रक्षा गर्दछ।

यो कुनै व्यक्तिको नभई सम्पूर्ण विद्यार्थी समुदायको आवाज हो, जसले शिक्षाको गुणस्तर सुधार, विद्यार्थी सेवाको प्रवर्द्धन, र सामाजिक न्यायको सुनिश्चिततामा भूमिका खेल्छ।
विद्यार्थी जीवन केवल किताबी ज्ञानमा सिमित हुनुहुँदैन । नेतृत्व क्षमता विकास गर्दै, लोकतान्त्रिक अभ्यास सिक्दै, समाज परिवर्तनको अभियानमा लाग्ने अवसर विद्यार्थीहरूलाई मिल्नुपर्छ। स्ववियु विद्यार्थीहरूको प्रशिक्षण स्थल हो, जहाँ उनीहरू आफ्ना अधिकारका लागि लड्न सिक्छन्, समस्याहरूको समाधान खोज्न जान्दछन्, र भविष्यमा सक्षम नेतृत्वकर्ता बन्ने अवसर पाउँछन । शिक्षामा माफियाकरण, शुल्कमा अपारदर्शिता, र मनपरी निर्णयहरूले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड हुनसक्छ यस्तो अवस्थामा स्ववियु मात्र विद्यार्थीहरूको कानुनी तथा संगठनात्मक प्रतिनिधित्व गर्ने बलियो संरचना हो । कुनै पनि शिक्षण संस्था केवल भौतिक संरचनाले मात्र राम्रो बन्दैन, त्यहाँका विद्यार्थीहरूले पाउने गुणस्तरीय शिक्षाले नै यसको पहिचान निर्धारण गर्छ। कक्षा कोठामा पढाइ व्यवस्थित छ कि छैन ? पुस्तकालयमा आवश्यक शैक्षिक सामग्री छन कि छैनन ? शिक्षाको व्यावहारिक पक्षलाई कत्तिको ध्यान दिइएको छ ? यी सबै प्रश्नहरूको जवाफ खोज्ने र सुधारको लागि दबाब सिर्जना गर्ने काम स्ववियुले गर्छ ।
स्ववियु विद्यार्थीहरूको संगठन मात्र होइन, यो शिक्षाको रक्षा गर्ने एउटा सशक्त संस्था समेत हो । जबसम्म विद्यार्थीहरू एकता, समानता, र न्यायको यात्रामा अघि बढ्छन्, तबसम्म शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ। यही कारण, कुनै पनि विश्वविद्यालय वा क्याम्पसमा स्ववियु अनिवार्य रूपमा आवश्यक छ।